साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने दाउका साथ आज नेपालले पाँच पटकको विजेता भारतविरुद्ध खेल्दैछ। यो खेल आज राति साढे ६ बजे दशरथ रंगशालामा हुनेछ।
घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन्। पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो। जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो। त्यसपछि नेपालले भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएको छ।
पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन। समग्रमा भने नेपालमाथि भारत हाबी छ। यी दुईबिच भएका कुल १७ भिडन्तमा भारतले ११ र नेपालले दुई खेलमा जित हात पारेका छन् । साफमै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ।
तर विगतमा दक्षिण एसियाली महिला फुटबलमा एकछत्र राज गरेको भारतको चमक अहिले कम भइसकेको छ । यस प्रतियोगिताको समूह चरणमा पनि बङ्गलादेशसँग ३–१ ले हारेर भारतले समूह ‘ए’ उपविजेतामा चित्त बुझाएको थियो। जसको फाइदा नेपाललाई सेमिफाइनलमा हुन सक्छ। नेपाल हजारौँ घरेलु दर्शकको ऊर्जा र मैदानको फाइदामा खेल्दै छ। पछिल्ला दुई खेलमा १७ गोल गरेपछि नेपाली स्ट्राइकरहरू अहिले उच्च मनोबलमा छन्।