गृहमन्त्री रमेश लेखकले उपल्लो मुस्ताङको कोरला नाकामा स्थापना गरिएको अध्यागमन कार्यालयको बुधबार उद्घाटन गर्नुभएको छ ।
चीनसँग सीमाना जोडिएको मुस्ताङको लोमन्थाङ गाउँपालिका १, नेचुङमा पर्ने कोरला नाकाको दशगजा नजिक स्थापित अध्यागमन कार्यालय र सशस्त्र प्रहरी बलको (बिओपी) भवन गृहमन्त्री लेखकले उद्घाटन गर्नुभएको हो ।
गृहमन्त्री लेखकले कार्यालय उद्घाटन गरेसँगै कोरलामा अध्यागमन कार्यालय सञ्चालमा आएको छ । कार्यालय उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले चीनसँग सीमाना जोडिएको कोरला नाकामा सरकारले पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेको बताउनुभयो ।
अध्यागमन कार्यालय सञ्चालनमा आएसँगै सरकारले नाकालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनका लागि आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अगाडी बढाइएको उहाँको भनाइ थियो । सरकारले कालिगण्डकी कोरिडोर सडकलाई पूर्णता दिन र कोरला नाकामा पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको गृहमन्त्री लेखकले बताउनुभयो ।
अध्यागमन कार्यालय उद्घाटनमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि कोराला पुग्नुभएको छ ।
अध्यागमन कार्यालय सञ्चालनमा आएपछि नाकाबाट वारपार गर्न तथा व्यापारिक कारोबार सञ्चालन गर्न सहज हुने आशा गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । अध्यागमन कार्यालय स्थापना भएसँगै सबै नेपाली भिसा लगाएर नाका वारपार गर्न पाउने बताउनुभयो ।
कोरलामा अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा केन्द्रीय विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको उच्च गतिको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको छ । नाकामा चिनियाँ भन्सारको आमने–सामने निर्मित प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट भवन निर्माण गरिएको छ ।
नाकामा भन्सार कार्यालय,क्वारेन्टाइन लगायतका पूर्वाधार निर्माण गरी कोरला नाकाबाट नै एकिकृत सेवा दिने तयारी गरिएको प्रजिअ भुसालले बताउनुभयो । पूर्वाधार निर्माण गरेर नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालय सँगै राख्ने तयारी भएको प्रजिअ भुसालले जानकारी दिनुभयो ।