सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका ‘श्याम’ र ‘सबल’ नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ।
मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान छ। यद्यपि प्रत्येक दिन बिहान भोजन तयार भएपछि काग र कुकुरलाई खान दिएर मात्र आफूले खानुपर्ने सनातन धर्मको निर्देश छ।
चतुर्दशीको बिहान झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसेर अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र ‘नरक जानु नपरोस्’ भन्ने उद्देश्यले बत्ती नदीमा बगाउने विधान पुराणमा पाइन्छ। यो दिनलाई नरक चतुर्दशी वा ‘नर्के चतुर्दशी’ भनिन्छ।