शङ्खधर साख्वाको शालिक निमाण गर्नका लागि प्रदेश सरकार तयार छ : मन्त्री अग्रवाल

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालले नेपालगन्जमा शङ्खधर साख्वाको शालिक निमाण गर्नका लागि प्रदेश सरकार सदैव सहयोगी रहेको बताउनुभएको छ ।

नेपाल संवत् ११४५ को अवसरमा नेपालगन्जमा आयोजना गरिएको एक कार्यक्रममा शनिबार बिहान मन्त्री अग्रवालले भन्नुभयो, “नेपालगन्जमा शङ्खधर साख्वाको शालिक निर्माण गर्ने कुरा बारम्बार उठीरहेको छ, उहाँ नेपाल संवत्का प्रवर्तक हुनुहुन्छ साथै नेपाल सरकारले उहाँलाई राष्ट्रिय बिभूति पनि घोषणा गरिसकेको अवस्थामा उहाँको शालिक निर्माण गर्न सबैले पहल गर्नुपर्छ ।”

“नेपालगन्जमा रहेका विभिन्न चोकमध्ये एक चोकलाई शङ्खधर साख्वाको नाममा नामाकरण गरेर पूर्ण कदको शालिक निर्माण गरौँ, केही आवाजहरु पनि उठ्दै आएका छन् ।” मन्त्री अग्रवालले भन्नुभयो, “शालिक निर्माणका लागि प्रदेश सरकार सहयोग गर्न तयार छ ।”

नेपाल संवत् ११४५ को अवसरमा नेवाः पुचः बाँके र नेवाः देयः देबू बाँकेले संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा मोटरसाइकल र्याली कार्यक्रममा लुम्बिनी प्रदेश सभासदस्य मीना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रजिअ खगेन्द्रप्रसाद रिजाल, राजनैतिक पार्टीका जिल्लास्थित प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतले शुभकामना प्रदान गर्नुभएको नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र जोशीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *