लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाललाई दिएका छन् ।
छिमेकी देश चीन भ्रमणमा जान लागेका मुख्यमन्त्री आचार्यले आफू नफर्किँदासम्मका लागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
मुख्यमन्त्री आचार्यले आजदेखि लागु हुनेगरी लुम्बिनी प्रदेश सरकार कार्य सम्पादन नियमाली २०७४ पछिल्लो संशोधनको नियम १४ को उपनियम ३ बमोजिम मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको कार्यसम्पादन गर्नेगरी जिम्मेवारी तोकेका हुन् । नेपालको संविधान र अन्य प्रचलित कानूनको अधिनमा रही तोकिएको कार्य जिम्मेवारी सम्मादन गर्न अनुरोध गरिएको छ ।
सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेको हो । सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कात्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।
भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुई पक्षीय सहयोग र सहकार्यको बारेमासमेत उच्चस्तरीय भेटवार्ता हुनेछ ।
वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले सिचुआन प्रान्तसगँ भगेनी सम्बन्ध कायम गरेका थिए । कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।