नेपालगन्जका १३ वटा वडामा युवा क्लब गठन

समृद्धि फाउण्डेशन नेपाल बाँकेले नेपालगन्ज उप महानगरपालिका १३ वटा वडामा युवा क्लब गठन गरेकाे छ । युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत  राष्ट्रिय युवा परिषद्ले जारी गरेको युवाक्लब गठन कार्यविधि २०७५ अनुसार १६ देखि २४ वर्ष उमेर समुहको वडास्तरीय युवाक्लब गठन कार्यक्रम गरेकाे हाे ।

युवालाई सशक्तिकरण, सामाजिक एकता प्रवर्द्धन र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्न र सक्रियता बढाउने तर्फ ध्यान दिनका लागि युवा क्लबको गठन गरिएकाे छ ।  वडा स्तरमा युवा क्लबहरूको स्थापना पश्चात युवाहरूले आफूलाई परेको समस्या अभिव्यक्त गर्न, सीप विकास गर्न र स्थानीय समस्याहरूलाई सम्बोधन गर्न मञ्च प्रदान गर्नुका साथै युवाको नेतृत्व तथा क्षमता विकास र परिचालनमा सहजीकरण गरेकाे जानकारी फाउण्डेशनका अध्यक्ष महेश चाैधरी जानकारी दिनु भयाे ।

स्थानीय तहमा सञ्चालन हुने सरसफाइ, वातावरण संरक्षण, बालअधिकार, मानव अधिकार, महिला अधिकार, शैक्षिक कार्यक्रम, सामाजिक कुरीति विरूद्धका सचेतना अभियानहरूमा सक्रियता पूर्वक सहभागी भई कार्यक्रम सफल बनाउन क्लबले सहयोग गर्ने लक्ष्य लिएकाे चाैधरीले जानकारी दिनु भयाे । उहाँका अनुसार प्रत्येक वडामा रहेका १६ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत महिला रहने गरि मधेसी मुस्लिम र पछाडि पारिएको सिमान्तकृत समुदायका पत्रकार, खेलाडी, कलाकार र अपाङगता भएका युवालाई क्लबमा समावेश गरिने बताउनु भयाे ।

बालविवाह, दाईजो प्रथा र सामाजिक हानिकारक अभ्यास न्युनिकरणका लागि युवाहरुको संगठन निर्माण गरि सामुदायिक गतिविधिहरूमा युवाहरूको सहभागिता वृद्धि गराउने र स्थानीय युवा बिच बलियो सामुदायिक सम्बन्ध स्थापनामा मद्दत गरि अभियानका लागि सचेत, सजग र सशक्त युवाहरूको उपलब्धता हुने लक्ष्य रहेको अध्यक्ष चाैधरीले जानकारी दिनु भयाे।