दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्त्व राख्ने रणनीतिक सुधारमा केन्द्रित हुनुभएको छ । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन उहाँ लागिपर्नुभएको हो ।

उहाँको नेतृत्वमा परिणाममुखी र दीर्घकालीनरूपमा प्रभावकारी हुने कामहरू अघि बढाइएका छन्। संस्कृतिको संरक्षण प्रवर्द्धन, समग्र पर्यटन क्षेत्रको दिगो विकास तथा नागरिक उड्डयन क्षेत्रको उन्नयनमा मन्त्रालयले कामहरू अगाडि बढाएको छ । यस अवधिमा गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक उडान सुचारू भएको छ । ठुलो धनराशि खर्चेर निर्माण गरिएका दुवै विमानस्थलका लागि व्यावसायिक उड्डयन कार्य योजना पारित गरी कार्यान्वयनमा ल्याइएको हो ।

सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चहाने विमान कम्पनीलाई विभिन्न कर छुटलगायतका सुविधा उपलब्ध गराउने कार्ययोजना स्वीकृत भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अलजजिरा एयर, फ्लाइ दुबई र थाई एयर एसियाले उडान सुरू गरी सकेका छन् । कम भिजिविलिटी भएका बेला उडान भर्न समस्या भएको भन्दै केही विदेशी हवाइ कम्पनीले बीचमा उडान तालिका कटौती गरेको भए पनि अहिले पुनः थप गरिरहेका छन् ।

परम्परागत रूपमा रहेको इन्स्टुमेण्ट ल्याण्डिङ सिस्टम (आइएलएस) को विकल्पमा भूउपग्रहमा आधारित रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथोराइजेसन रिक्वायर्ड ९आरएनपी–एआर० प्रणाली जडान भइ सञ्चालनमा ल्याइएको छ । भारतले आफ्नो आकाशमा पहुँच पुग्ने भन्दै आइएलएस सञ्चालनका लागि अनुमति नदिएपछि नयाँ विकल्प अगाडि सारिएको हो । आरएनपी–एआर भूउपग्रहमा आधारित अवतरण प्रणाली हो भने आइएलएस उपकरणमा आधारित अवतरण प्रविधि हो । आरएनपी–एआर नेभिगेसन प्रणालीले जहाजलाई चुनौतीपूर्ण भूभाग र खराब मौसममा सुरक्षित अवतरणका लागि मद्दत गर्छ ।

नेपालमा लामो समयदेखि चर्चामा रहेको नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा एउटै निकाय राख्न नहुने यसबाट स्वार्थ बाझियो भन्ने गुनासो सम्बोधन गर्न प्रक्रिया अगाडि बढाइएको छ । कानुनी सुधारबाट युरोपेली युनियनले नेपाली वायुसेवा कम्पनीमाथि लगाएको प्रतिबन्ध फुकुवा हुन सहयोग पुग्ने विश्वास लिइएको छ ।

नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन मन्त्रीको नेतृत्वमा मन्त्रालयले अहोरात्र पहल गरिरहेको छ । पर्यटनमन्त्री पाण्डेले ऐनको नयाँ मस्यौदा बनाउँदा समय लाग्ने भएकाले पुरानो ऐनको मस्यौदालाई नै खोजेर त्यसलाई परिमार्जनसहित मन्त्रिपरिषद्मा पेस गरिएको र सुधार गर्नुपर्ने विषय संसदबाट संशोधन गरेर सुधार गरिने बताउनुभयो । उहाँले मन्त्रालयको काम बारबाहीलाई चुस्त र प्रभावकारी बनाउन तत निकायका नीतिगत सुधार र संरचनागत परिवर्तनलाई महत्त्वकासाथ अगाडि बढाइएको विश्वास व्यक्त गर्नुभयो ।