अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्ने भएको छ।
अमेरिकाको ‘सरकारी दक्षता विभाग’ का निर्देशक एलन मस्कले आफू र राष्ट्रपति ट्रम्पले यूएसएआईडी बन्द गर्न लागेको बताएका हुन्। सोमबार आफ्नै सामाजिक सञ्जाल ‘एक्स’ द्वारा आयोजित कार्यक्रममा मस्कले यूएसएआईडी बन्द गर्ने विषयमा राष्ट्रपतिसँग कुराकानी भएको जानकारी दिएका छन्। यूएसएआईडी सुधार्नै नसक्ने अवस्थामा पुगेको मस्कको दाबी छ। ‘यो सुधार्नै नसक्ने अवस्थामा छ। त्यसैले हामी यसलाई बन्द गर्दैछौँ ।’
वासिङ्टनस्थित मुख्यालयमा डीओजीईको निरीक्षण टोलीलाई पहुँच नदिएपछि मस्कले यूएसएआईडीलाई ‘आपराधिक संगठन’ को संज्ञा दिएका थिए। ‘यूएसएआईडी आपराधिक संगठन हो। यसको मर्ने समय आएको छ,’ मस्कले आइतबार भनेका थिए । त्यसलगत्तै यूएसएआईडीका सुरक्षा निर्देशक जोन भुरहिस र उपनिर्देशक ब्रायन म्याकगिललाई बिदामा राखिएको छ।
मस्कको घोषणासँगै यूएसएआईडीका कर्मचारीहरूलाई सूचना जारी गर्दै वासिङ्टनस्थित मुख्यालय प्रवेश नगर्न निर्देशन दिइएको छ। त्यससँगै ६०० कर्मचारीलाई यूएसएआईडीका कम्प्युटर प्रणालीको पहुँचमा रोक लगाइएको एपीले जनाएको छ।
यसका साथै यूएसएआईडीको वेबसाइट पनि अनलाइनबाट हटाइएको छ। रोयटर्सका अनुसार सयौँ कर्मचारीलाई बिदामा बस्न लगाइएको छ ।
थाहा खबरबाट