२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै त्यसबारे आपत्ति जनाएका छन् ।
मंगलबार राजधानीमा आयोजित नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नर्सहरू पनि श्रमिक भएकाले न्यूनतम तलब सबैले पाउनुपर्ने भनाइ राखे ।
देशमा अहिले समस्या नै नभएको अवस्था नरहेको जिकिर गर्दै उनले समानता र समाजवादको विकसित रुप आइनसकेको जिकिर गरे ।
उनले कुनै पनि बाहनामा नर्सहरूलाई न्यूनतमभन्दा कम तल दिन नहुने बताए ।
‘न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिएर काममा लगाउन कहीँ पनि पाइँदैन । त्यो कानुन लाग्ने विषय बनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘पारिश्रमिक कुनै पनि बाहनामा न्यूनतमभन्दा तल दिन पाइँदैन ।’