नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ पुस्तामा परिवर्तनको अनुभूति हस्तान्तरण गर्न नसकिएको बताउनुभएको छ ।
मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौँ राष्ट्रिय महाधिवेशन समारोहलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले समाजमा निराशा, असन्तुष्टि र अराजकता उत्पन्न हुनुको कारण त्यही भएको बताउनुभयो । ‘आफूले गरेको काम समाजमा सम्प्रेषण गर्ने कुरामा हामी चुकेका छौँ’, उहाँले भन्नुभयो ।
राजनीतिक र सामाजिक क्षेत्रमा गरेको कामको अनुभूति नयाँ पुस्तालाई गराउने कुरामा पार्टी र सामाजिक संस्था चुकेको उहाँले बताउनुभयो । आफ्नो समयमा गरेको काम सही ढङ्गले सम्प्रेषण गर्न नसक्दा असन्तुष्टि बढेको उहाँले बताउनुभयो ।
कुनै पनि राष्ट्रको समृद्धि र विकासको लागि बलिया राजनीतिक दल आवश्यकता रहेको उहाँले बताउनुभयो । यसको लागि जनमतलाई ध्रुवीकरण गर्नुपर्ने पोखरेलले बताउनुभयो । ‘त्यस कारण अब नेपाली समाजमा धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दल आवश्यक पर्दछ, धेरै संघ संगठन होइन बलियो संगठित शक्ति आवश्यक पर्दछ’, उहाँले भन्नुभयो ।
राष्ट्र निर्माणको लागि हिजो जसरी चलियो अब त्यसरी काम गरेर नहुने उहाँले बताउनुभयो । अब नयाँ ढङ्गले बलियो राजनीतिक शक्ति निर्माण गरेर अघि बढ्न जरुरी रहेको पोखरेलले स्पष्ट पार्नुभयो ।
समाजलाई अघि बढाउन नागरिक कर्तव्य सहितको अधिकारको अवधारणा अघि बाउन पर्नुमा उहाँले जोड दिनुभयो । नागरिक कर्तव्य विनाको अधिकार अराजक हुने पोखरेलले स्पष्ट पार्नुभयो ।
जनतासँग नजोडिएको राजनीतिले मुलुकको विकास र समृद्धि गर्न नसक्ने उहाँले बताउनुभयो । मुलुकको विकासको लागि व्यक्ति मात्र बलियो भएर नहुने बताउँदै उहाँले त्यसको लागि राज्य बलियो हुनु पर्ने स्पष्ट पार्नुभयो ।
नेपालको राजनीतिमा महिलाको सहभागिता सत प्रतिशत हुनसक्ने कानुनी प्रबन्ध रहेको बताउँदै पोखरेलले व्यवहारमा त्यो ३३ प्रतिशत मात्र सीमित रहेको बताउनुभयो । अधिकार दिएर मात्र नहुने बताउँदै उहाँले त्यो आर्थिक र सामाजिक कुरामा केन्द्रित हुने स्पष्ट पार्नुभयो । त्यसैले अबको लक्ष आर्थिक सामाजिक परिवर्तनको दिशामा केन्द्रित हुनु पर्ने पोखरेलले धारणा राख्नुभयो ।
नेपालमा राजनीतिक स्थायित्वको लागि पुराना र ठुला राजनीतिक दललाई नै थप बलिया बनाउनु पर्नेमा पोखरेलले जोड दिनुभयो । नेपालका राजनीतिक दलले काम गर्ने मौका नै नपाएको कारण सोचे जस्तो काम गर्न नसकेका पोखरेलले स्पष्ट पार्नुभयो । ‘लोकतन्त्रको लागि लडेका दललाई कमजोर बनाइयो भने देश बन्दैन’, उहाँले भन्नुभयो ।
राजनीतिक दलहरूले शासन गरेको समयमा पनि राजनीतिक अस्थिरताको कारण काम गर्ने वातावरण नै नबनेको उहाँले बताउनुभयो । ३२ सिटे दलले ठुला पार्टी माथि शासन गर्ने अवस्थामाले देश अस्थिरताको भुमरीमा फसेको उहाँले बताउनुभयो । त्यसैलाई सदाको लागि अन्त्य गर्न दुई ठुला राजनीतिक दल एक ठाउँमा आउनु परेको पोखरेलले स्पष्ट पार्नुभयो ।
सात बुँदे सहमतिका जगमा कांग्रेस र एमालेको सरकार बनेको पोखरेलले स्पष्ट पार्नुभयो । देशको विकास र समृद्धिको लागि नियन्त्रणकारी कानुन होइन सहजीकरण गर्ने कानुन बन्नु पर्छ भनेर अहिलेको सरकारले कानुनी र शासकीय सुधारको काम अघि बढाएको पोखरेलले बताउनुभयो । देशलाई स्थायित्व तर्फ लैजानु पर्छ भन्ने कुरामा कांग्रेस र एमाले स्पष्ट रहेका पनि पोखरेलले जानकारी दिनुभयो ।
दुईतिहाई बहुमत नहुँदासम्म संविधान संशोधन हुन नसक्ने बताउँदै पोखरेलले कांग्रेस र एमाले त्यसैको पर्खाइमा रहेको बताउनुभयो । अब एक डेढ वर्षपछि राष्ट्रिय सभामा निर्वाचन हुँदा कांग्रेस र एमालेको दुईतिहाई बहुमत पुग्ने र सोही मतले संविधान संशोधन गर्ने पोखरेलले स्पष्ट पार्नुभयो ।
जनताको बिचमा पार्टीलाई स्थापित गराउने आधार पार्टीका जनसंगठन नै भएका पोखरेलले बताउनुभयो । त्यसको लागि वडा केन्द्रित अभियान पार्टीले चलाई रहेको उहाँले स्पष्ट पार्नुभयो । महाधिवेशन सकिने बित्तिकै मानव अधिकार एलाइन्सलाई पनि जरा केन्द्रित अभियानमा केन्द्रित हुन पोखरेलले निर्देशन दिनुभयो ।
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बन्नबाट अब कसैले रोक्न नसक्ने बताउँदै पोखरेले पार्टीलाई निर्णायक शक्ति बनाउने अभियानमा जुट्न पार्टी र जनसंगठनका नेताहरूलाई आह्वान गर्नुभयो । त्यसको लागि एमाले विरुद्ध सामाजिक सञ्जाल मार्फत फैलाइएको भ्रम चिर्ने काममा लाग्ने पनि उहाँले आग्रह गर्नुभयो ।