
काठमाडौं जिल्ला प्रहरी परिसरले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर जबरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ ।
जबरा राजावादीको प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधि भड्काउन मतियार रहेको आरोपमा पक्राउ परेका हुन् ।
नेपालको संविधानको धारा (१०३) को उपधारा (६) बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
‘सम्माननीय सभामुखलाई सम्बोधन गरेर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रतिनिधिसभा सदस्य जबरालाई पक्राउ गरिएको पत्र सचिवालयलाई प्राप्त भएको छ’, प्रवक्ता गिरीले टेलिफोनमा भने ।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री जबरालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थियो । उनीहरूलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।