एमालेले ७७औँ वर्ष भव्य रुपमा मनाउने

नेकपा (एमाले)को सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनसँग र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल गरेको छ ।

सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वैसाख ९ गते आफ्नो पार्टी स्थापनाका दिन सात जनालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘बैठकमा केही पार्टीको आन्तरिक जीवनसँग जोडिएका र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल गरेका छौँ । आगामी बैसाख ९ गते पार्टी स्थापनाको ७६ वर्षगाँठ सम्पन्न भएर ७७औँ वर्षगाँठलाई भव्य रुपमा मनाउने तयारी गरेका छौँ । त्यसमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उर्जा, शक्ति, सामर्थ्य र नयाँ दिशाका साथ अगाडि बढाउने हामीले संकल्प गर्ने छौँ । विगत वर्षमा जस्तै हामीले कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउने केही विशिष्ट व्यक्तित्वहरुलाई कम्युनिष्ट योद्धाको हिसावले सम्मान गर्ने निर्णय बैठकमा गरेका छौँ । त्यसअन्तर्गत लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्नशर्मा न्यौपाने (जाजरकोट), शोभाराम बस्नेत (दाङ), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), शत्यनारायण मण्डल (सप्तरी) र हरिचरण सिवाकोटी (झापा)लाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय भएको जानकारी गराउनु भयाे ।