सरकार परिवर्तन हल्ला अन्त्य: महासचिव पाेखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ वर्ष आरम्भ भएसँगै सरकार परिवर्तन हुन्छ भन्ने भ्रामक हल्ला पनि आजबाट सकिएको बताउनुभएको छ ।
आज सामाजिक सञ्जाल फेसबुक मार्फत महासचिव पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच आज भएको भेट र छलफल पछि सरकार बदलिन्छ भनि गरिएको भ्रामक प्रचार चिरिएको धारणा राख्नु भएको छ । अबको ध्यान नीति, कार्यक्रम र बजेट तयारीको सन्दर्भमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ । ‘नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको छ, अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौँ’, उहाँले लेख्नु भएको छ ।उहाँले बहस शृङ्खला दुई अन्तर्गत स्वास्थ्य क्षेत्रका मुद्दा पनि समावेश गर्नुभएको छ । यस अघि बहसको पहिलो शृङ्खलामा शिक्षा क्षेत्रका केही विषय उठान गर्नुभएको थियो ।
यस्ता छन् उहाँले उठाउनुभएको स्वास्थ्यको बहसका क्षेत्रहरू :
१ स्वास्थ्य पूर्वाधार अभाव तथा जनशक्तिको अभाव र असमान वितरण
२ स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या
३ निरोगी नेपालको अवधारणा कार्यान्वयनमा चुनौती
स्वास्थ्य क्षेत्रको सुधारका मुख्य विषय
१ योजना अनुरूप पूर्वाधार विकास र सुदृढीकरण
२ स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकास र सन्तुलित वितरण (ग्रामीण क्षेत्रमा काम गर्ने जनशक्तिलाई विशेष प्रोत्साहन)
३ स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन (यसमा सबै अनुदानलाई बिमा कार्यक्रमसँग जोडेर बिमाको दायराको विस्तार । गरिब र ज्येष्ठ नागरिकलाई निःशुल्क बिमाको सुनिश्चितता)
४ सूचना प्रविधिको प्रयोगद्वारा ग्रामीण क्षेत्रमा टेलिमेडिसिनको विस्तार
५ निरोगी नेपाल निर्माणका लागि स्वास्थ्य शिक्षा र स्वच्छ आहार विहारको प्रवर्धन
यस सन्दर्भमा तपाईँका मौलिक सुझाव भए उल्लेख गर्नु होस् ।