नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सो जानकारी दिनु भएको हो । उक्त सहमतिलाई आज बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको शिक्षामन्त्री पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । उहाँका अनुसार भोलिदेखि शिक्षक महासङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर विद्यालय सञ्चालनको गर्ने सहमति भएको छ ।
पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकले कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु हुने भएकाले त्यसलाई सफल बनाउनका लागि लाग्न सबै शिक्षकसँग आग्रह गर्नुभयो ।
यो सहमतिसँगै शिक्षकहरुले आफ्नो आन्दोलन फिर्ता लिई भर्ना अभियानमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार बसेको बैठकमा सहमति जुटेको जानकारी दिनुभयो ।
अध्यक्ष सुवेदीले सरकार र आन्दोलनरत शिक्षकबिच नौ बुँदामा सहमति भएको बताउनुभयो ।
शिक्षक महासङ्घले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको थियो ।
सो आन्दोलन स्थगन आजदेखि भएको तथा भोलि बिहीबारदेखि विद्यार्थी भर्ना र परीक्षाका कार्यक्रम सुचारु हुने उहाँको भनाइ छ ।
उहाँले आगामी असार १५ गते विद्यालय शिक्षा ऐन जारी गर्ने सहमति भएको जानकारी दिनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिबिच भएको नौ बुँदे सहमति मन्त्रिपरिषद्ले स्वीकार गरेको बताउनुभयो ।