उपभोक्ता अदालतकाे पहिलो फैसला

उपभोक्ता अदालतले पहिलो फैसला सुनाएको छ।काठमाडौँ, ललितपुर र भक्तपुर ३ जिल्ला हेर्ने कार्यक्षेत्र रहेर गत वर्ष चैत ३ गतेदेखि सञ्चालनमा आएको उपभोक्ता अदालतले पहिलो फैसला सुनाएको हाे ।

जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्माको अध्यक्षतामा न्याय सेवाका उपसचिव गेहेन्द्रराज रेग्मी तथा प्रशासन सेवाका उपसचिव आनन्दराज पोखरेल सदस्य रहेको इजलासले आज काठमाडौँको विशालबजारमा सञ्चालित स्वस्तिक सिल्भर प्यालेस प्रालिलाई  क्षतिपूर्ति भराउने फैसला सुनाएको हो।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १३ घर भएकी ५३ वर्षीया सावित्री थापाले काठमाडौँको विशालबजारमा सञ्चालित स्वस्तिक सिल्भर प्यालेस प्रालि र त्यसका सञ्चालक ३५ वर्षीया सुनिता श्रेष्ठविरुद्ध उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन्।

३५ हजार ७ सय रुपैयाँ क्षतिपूर्तिको माग दावासहित दायर भएको मुद्दामा आज उपभोक्ता अदालतले फैसला सुनाएको अदालतका स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए।

उक्त सिल्भर प्यालेस प्रालिले उपभोक्तालाई हानी नोक्सानी पुर्‍याएको ठहर गर्दै अदालतले २० हजार क्षतिपुर्ति भराउन आदेश गरेको हो।

२०८१ फागुन २५ गते उनले चाँदीको मूर्ति किनेकी थिइन्। ४ हजार ६ सय रुपैयाँ तिरेर किनेको उक्त मूर्ति सातौँ दिन २०८१ चैत १ गते  फिर्ता गर्न पुग्दा शोरूम सञ्चालकले फिर्ता गर्न नमानेको र पछि २ हजार २२५ रुपैयाँ मात्र फिर्ता गरेर ठगेको भन्दै उनले मुद्दा दायर गरेकी थिइन्।

उपभोक्ता अदालतमा जम्मा ६ वटा मुद्दा परेको छ।