सर्वोच्चको आदेशबारे अग्नि सापकोटाले भने: आ-आफ्नै ढंगले प्रचार गरिएको सत्यता छैन

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले आफूविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे अहिले छलफल आवश्यक नभएको बताएका छन् ।

सर्वोच्च अदालतको आदेशको पूर्णपाठ आइसकेपछि त्यसलाई अध्ययन गरेर मात्र छलफल गर्नुपर्ने उनको धारणा छ । उनले अनलाइनखबरसँग भने, ‘पूर्णपाठ आओस् अनि थप कुरा गरौंला अहिले मेरो भन्नु केही छैन ।’

आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुको जिज्ञासामा पनि सापकोटाले त्यही धारणा दोहोर्‍याए ।

आजको बैठकमा सर्वोच्चको आदेशबारे के छलफल भयो भन्ने जिज्ञासामा सापकोटाले भने, ‘कुनै पनि कुराको टिप्पणी गर्दाखेरि त्यसको पूरै अध्ययन गर्नुपर्छ । अहिले त लिखित पनि आएको छैन ।’

उनले अहिले आ–आफ्नै ढंगले प्रचार भइरहेको र ती प्रचारमा धेरै सत्यता पनि नभएको उनले प्रतिक्रिया दिए ।

‘त्यो प्रचारमा पनि त्यति धेरै सत्यता छैन । आफ्नै हिसाबले प्रचार गरेका छन्,’ उनले भने, ‘पूर्णपाठ आइसकेपछि त्यसलाई राम्रोसित अध्ययन गरिसकेपछि राम्रोसित धारणा व्यक्त गर्ने कुरा नै ठिक हुन्छ । किनभने यो अदालती कुरा हो । अधुरो, अंशमा, अपूर्ण कुरामा टिप्पणी गर्नु त्यति परिपक्वता देखिँदैन । त्यसकारण पूर्णपाठ आइसकेपछि हामी छलफल गरौंला ।’

द्वन्द्वकालीन मुद्दामा छानबिन गर्ने गरी ऐन र आयोगहरु बनिसकेको भन्दै उनले अदालत त्यसबारे जानकार भएको बताए । उनले भने, ‘यी सबै कुरामा मलाई लाग्छ अदालत पनि जानकार नै छ । यसमा थप टिप्पणी आवश्यक छैन ।’