कांग्रेस बाँकेले १०४ जना नेता कार्यकर्तालाई स्पष्टीकरण सोध्दै

बाँकेमा नेपाली कांग्रेसका १०४ जना नेता कार्यकर्ताहरुलाई स्पष्टीकरण सोधेकाे छ । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाँकेको असार ७ गते बसेको बैठकको निर्णय अनुसार पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै १०४ जनालाई स्पष्टीकरण सोधिने भएको हो ।

अनुशासन समितिका संयोजक टंकप्रसाद काफ्ले आशिषले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारहरुलाई असहयोग गरेको निवेदन सिफारिसका आधारमा स्पष्टीकरण सोध्ने निर्णय भएको बताउनु भयाे । उहाँले अनुशासन समितिमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार, वडा कार्यसमिति तथा क्षेत्रबाट निवेदन सिफारिस भएका आधारमा कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४(४)(ङ) बमोजिम ७ दिने स्पष्टीकरण माग गरिने जानकारी दिनु भयाे ।

स्पष्टीकरण सोधिनेमा सबैभन्दा बढी डुडुवाका ४७ जना छन् । यस्तै नेपालगञ्जका १६ जना, नरैनापुरका १४ जना, राप्तीसोनारीका ८ जना, खजुराका ७ जना, कोहलपुरका ६ जना र बैजनाथका ६ जना छन् । संयोजक काफ्लेका अनुसार नेपाली कांग्रेस बाँकेको सहसचिव विनोद कुमार थारुलाई पनि स्पष्टीकरण सोधिने भएको छ । उहाँका विरुद्ध पनि निवेदन परेको छ ।

जिल्ला सदस्य शरदचन्द्र बर्मा, नेपालगञ्ज २० का बुथ सभापति जोगेन्द्र प्रसाद यादव, डुडुवा ६ का बुथ सभापति बाबुलाल यादव, नरैनापुर ५ का बुथ सभापति मुनब्बर अली मुकेरी, ६ का बुथ सभापति राम अचल मुराउ (मौर्य), वडा नम्बर १० का निवर्तमान वडा अध्यक्ष विन्दुभुषण बस्नेत, पूर्व महाधिवेशन प्रतिनिधि सचेन्द्र कुमाार चौधरी लगायत पनि स्पष्टीकरण सोधिनेहरुको लिष्टमा परेका छन् । उनीहरुलाई भोलीदेखि स्पष्टीकरण पत्र पठाइने बताइएको छ । उनीहरुले पत्र पाएको ७ दिनभित्र स्पष्टीकरण दिनुपर्ने हुन्छ ।