प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन बुधबार राति युगाण्डा प्रस्थान गर्नु भएकाे छ। उहाँ कतार एअरलाइन्सबाट त्यसतर्फ जानु भएकाे हाे ।
सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगाण्डाको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीकी पुत्री गङ्गा दाहाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनु हु्छ।
प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि उनी गणतन्त्र युगाण्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा समेत सहभागी हुने कार्यक्रम छ ।
मन्त्रीस्तरीय बैठकमा सहभागी हुन माघ १ गते नै युगाण्डा पुगेका परराष्ट्रमन्त्री एनपी साउदले बुधबार मन्त्रिस्तरीय बैठकमा सम्बाेधन गरिसक्नु भएकाे छ ।
प्रधानमन्त्री दाहालको अनुपस्थितिमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सम्हाल्नु भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोक्नु भएकाे हाे ।