बाँकेमा एयर गनसहित जाजरकोटका युवा पक्राउ


बाँके। नेपाल–भारत सीमानाका जमुनाहाबाट हतियारसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका–९ बस्ने २१ वर्षीय अमृत विक रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक थान एयर गन र सोको ३४ राउण्ड गोलीसहित विकलाई पक्राउ गरेको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहा नाकाबाट एयर गनसहित विकलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । जाँचका क्रममा विकको साथबाट हतियार बरामद भएको प्रहरी उपरीक्षक पौडेलले बताए।

यस्तै जाजरकोट भेरी नगरपालिका–९ कै १६ वर्षीय दीपक विकको साथबाट पनि प्रहरीले फलामको साङ्लो बरामद गरेको छ । उनीहरु दुवैलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।