खजु्रामा निःशुल्क स्वास्थ्य शिविरबाट बाह्र सयले जेष्ठ नागरिक सेवा पाए


बाँके । बाँकेको खजुरा गाउँपालिकाले सञ्चालन गरेको जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविरमा ११ सय ८९ जना जेष्ठ नागरिकले सेवा लिएका छन् ।
खजुरा गाउँपालिकाका ८ वटा वडामा संचालन गरिएको विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविरमा सामाजिक सुरक्षामा सहभागी जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर सेवा प्रवाह गरिएको थियो । गत फागुन ३ गतेदेखि वडा नं. १ राधापुरबाट शुरु भएको शिविर शनिवार रनियापुरको स्वास्थ्य चौकीमा समापन भएको छ । जेष्ठ नागरिकहरुमा मधुमेह, उच्चरक्तचाप, दम, पेटसम्बन्धी समस्या हाडजोर्नीलगायतका समस्या देखिएको शिविरमा संलग्न स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
शिविरमा क्यान्सर अस्पताल खजुराका डा. क्रिष्टिना नामोक श्रेष्ठ, भेरी अस्पतालका डा. जेनिस न्यौपाने, डा. शुभाष पौडेल, डा. विकास शाह, खजुरा स्वास्थ्य शाखाका प्रमुख पूर्ण खड्का नर्सिङ अधिकृत लक्ष्मी केसीलगायतका स्वास्थ्यकर्मी सहभागी भई सेवा प्रवाह गरेका थिए । स्वास्थ्य शिविरमा आएका जेष्ठ नागरिकहरुमा १९ प्रतिशतमा उच्चरक्तचाप, १८ प्रतिशतमा हाडजोर्नी, १४ प्रतिशतमा पेटसम्न्धी र ११ प्रतिशतमा मधुमेहको समस्या देखिएको जनाइएको छ ।
रनियापुरमा भएको समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले मनसंग मन जोडेर स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बताउनु भयो । उहाँले जेष्ठ नागरिक तथा खजुराबासीका लागि खजुरा गाउँपालिका स्वास्थ्य उपचारमा विशेष ध्यान दिँदै आएको उल्लेख गर्दै स्वास्थ्य समस्या के कारण आउने गरेको छ त्यसको शुरुमै सचेतनाका कार्यक्रम हुनु पर्नेमा जोड दिनु भयो । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले यस्ता शिविरहरु यतिकैमा सीमित नगरी अझै व्यवस्थित र प्रभावकारी ढंगले संचालन गरिनु पर्नेमा जोड दिनु भयो । समापन कार्यक्रममा डा. जेनिस न्यौपाने, स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर खड्काले स्वास्थ्य शिविर प्रभावकारी भएको बताउनु भयो ।