सरकारी मल बिक्री गर्नेलाई दुई लाख जरिवाना

सरकारले किसानलाई अनुदानमा दिएको रासायनिक मल सहकारीले निजी पसललाई बिक्रीका लागि दिएको खुलेको छ । इलामस्थित कृषि सामग्री कम्पनी लिमिटेडले इलाम नगरपालिका –१, साखेजुङका किसानलाई सहुलियत दरमा उपलब्ध गराउन स्थानीय सूर्यज्योति कृषि सहकारीलाई दिएको ३४ बोरा युरिया र १८ बोरा डिएपी मल बिक्री गरेको पाइएपछि जरिवाना गरिएको छ ।

केही दिनअघि जिल्ला प्रशासन कार्यालयले इलामले इलाम नगरपालिका –७, सुनभागा चोकमा रहेको कृषि बिज भण्डारबाट बिक्री गर्न राखिएको अनुदानको मल बरामद गरेको थियो । बरामदपछि छानविन गरी जिल्ला प्रशासनले सहकारीमार्फत् किसानलाई बाँड्नुपर्ने रासायनिक मल किनेर बेच्ने निजी पसललाई दुई लाख रुपियाँ जरिवाना गराइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताउनुभयो ।