बाँदरले खेतीबारीमा लगाएको अन्नबाली खाइदिएपछि मकै बोकेर किसानहरूले दोलखा सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका छन् । बुधबार किसानहरू बाँदरले खाएको मकैको खोस्टाको माला र बाँदरले नष्ट गरेको मकैका बोट बोकेर सदरमुकाम आइपुगेका किसानहरूले जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापनपत्र बुझाएका छन् ।
सदरमुकाम आइपुगेका उहाँहरूले बजार क्षेत्रमा बाँदर आतङ्क रोक्न सरकारले पहल नगरेको भन्दै आक्रोशस्वरुप नाराबाजी गरे । मेलुङ– ७ का वडाध्यक्ष नवराज खड्काको नेतृत्वमा आएका गाउँलेको जुलुस सदरमुकामका विभिन्न क्षेत्रको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई गाउँलेले ज्ञापनपत्र बुझाएका थिए ।
स्थानीय बलराम श्रेष्ठले गाउँमा हुलका हुल बाँदर पसेर बालीनाली सखाप पार्नुका साथै घर र बस्तीमै पसेर मानिसलाई टोकेर घाइते बनाउने गरेको बताउनुभयो । उहाँको बुहारी लक्ष्मी श्रेष्ठको बाँदर धपाउने क्रममा गत वर्ष भीरबाट लडेर मृत्यु भएको थियो । गाउँमा युवा नरहेको र वृद्ववृद्वा र केटाकेटी मात्रै रहेकाले हुलका हुल आउने बाँदर नियन्त्रण गर्न नसके बालीनाली मात्र सखाप नभई मानवीय क्षति झन् बढ्ने वडाध्यक्ष खड्काले बताउनुभयो ।
गाउँलेले जिल्लास्थित राजनीतिक दलका प्रमुखहरूलाई समेत ज्ञापनपत्र बुझाएका छन् । किसानहरूले सबै राजनीतिक दललाई बाँदर नियन्त्रणमा पहल गरिदिन भन्दै ध्यानाकर्षण पत्र बुझाइएको सोही वडाका वडा अध्यक्ष नवराज खड्काले बताउनुभएको छ । बाँदरको आतङ्क रहेकाले स्थानीयहरूले उक्त क्षेत्रमा बाँदर नियन्त्रण गर्न नसकेपछि प्रशासनलाई ध्यानाकर्षण बुझाएको अध्यक्ष खड्काले बताउनुभयो ।
किसानहरूले वर्षौँदेखि बाँदर आतङ्कको पीडालाई खेपिरहेका छन् । वर्षौँदेखि गाउँमा बाँदर आतङ्क मच्चिँदै आएको तर सम्बन्धित निकायको बेवास्ता गरेको कारण प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको उहाँले बताउनुभयो ।