निकुञ्ज कार्यालय नजिकैको वनमा अनुमति बिना धमाधम रुख काटिदै

चितवनको भरतपुर महानगरपालिका वडा नं. २३ मा रहेको घैलाघारी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले मनपरी ढंगले सयौं रुख काटेर बेचेको भेटिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कसरासँग जोडिएको समुदायिक वनमा जेठ ३१ र ३२ गते सयौं सिसौका रुख काटेको पाइएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने सामुदायिक वनहरूले रुख कटान गर्दा चितवन राष्ट्रिय निकुञ्जबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर घैलाघारी सामुदायिक वन उपभोक्ता समूहले निकुञ्जबाट कुनै अनुमति नलिइ धमाधम रुख काटेर बेचिरहेको छ ।

सामुदायिक वनका अध्यक्ष लिला भुषालले निकुञ्जसँग अनुमति माग गरिएको तर नपाएपछि उपभोक्ताको मागलाई मध्यनजर गरेर सुकेका रुख काटिएको बताए । उनका अनुसार झण्डै ४ सय ५० क्यूफिटभन्दा बढी काठ दुई दिनको अवधिमा काटिएको हो ।

‘३० गतेबाट नै रुख काट्ने भन्ने थियो, काम गर्ने मान्छे नआएर ३१ र ३२ गते काटियो,’ अध्यक्ष भुषालले भने, ‘निकुञ्जबाट अनुमति नआए पनि कार्यालयका कर्मचारीको मौखिक सहमतिमा रुख काटेका हौं ।’

काटिएका रुखबाट करिब १२० क्यूफिटभन्दा बढी काठ बिक्रीसमेत भइसकेको छ । सामुदायिक वनले एक क्यूफिट काठको १ हजार रुपैयाँ र १ ट्याक्टर दाउराको ५ हजार रुपैयाँ राजस्व उठाउँदै आएको छ ।

यो वनले ८ ट्याक्टर दाउरा पनि बेचिसकेको छ । घैलाघारीले जेठ २८ गते उपभोक्ताहरूको भेला बोलाएको माइन्यूट तयार गरेर सोही दिन निकुञ्ज कार्यालयलाई रुख काट्ने अनुमति माग गरेको थियो ।

रुख काट्ने अनुमति माग गरेको २ दिनपछि नै निकुञ्जको स्वीकृत नआउँदै सामुदायिक वन समूहले रुख काटेको देखिएको छ ।

वनका अध्यक्ष भुषालले गएको फागुनमा निकुञ्जसँग काठ दाउराका लागि अनुमति माग गरे पनि नपाएकाले यसपटक सुकेका रुख काटेको बताए ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले सामुदायिक वनको कार्ययोजना नै फेल भइसकेको र नयाँ कार्ययोजना पास नभएको कारणले अनुमति प्रदान गर्न नसकिएको बताए ।