जीवराजको जन्मजयन्तीमा आकृति खोज्दै १७ विद्यार्थी

२०५० साल जेठ ३ गते नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यम मृत्यु भयो । त्यो दुर्घटना थियो अथवा हत्या अहिलेसम्म पनि त्यो रहस्यमय नै छ । २००९ साल असार १४ गते जन्मिनु भएका मदन र २००१ साल साउन १८ मा जन्मिनु भएका दुबै जना अहिले हाम्रो सामू हुनुहुन्न । अहिले उहाँहरु दुबैलाई सम्झिनका लागि उहाँहरुको सम्झनामा स्थापना भएका प्रतिष्ठान वा फाउन्डेशनहरुले साना–ठूला गतिविधिहरु गर्दै आएको देखिन्छ ।

अहिले मदन भण्डारी फाउन्डेशनले मदनको सम्झनामा गतिविधि गर्दै आएको छ भने जीवराज आश्रित स्मृति प्रतिष्ठानले जीवराजका इतिहास जोगाई राख्ने पहल र प्रयासहरु गर्दै आइरहेको छ । मदन भन्दा झण्डै ८ वर्ष उमेरले जेठा जीवराज कुशल संगठक हुनुहुन्थ्यो । तत्कालिन महासचिव भएका नाताले पनि हुनसक्छ मदनको चर्चा जति धेरै हुने गर्छ जीवराजको उहाँको तुलनामा कम नै हुने गरेको छ । नेताहरुले पनि जीवराजको भन्दा मदनको बढी चर्चा गर्ने गरेको देखिन्छ ।

साउन १८ मा मदनजयन्ती जति धेरै चर्चामा आउने गर्छ जीवराजको जन्मजयन्ति त्यति धेरै चर्चामा आउँदैन । २०६६ सालमा जीवराज आश्रित स्मृति प्रतिष्ठान स्थापना भएपछि भने उहाँको सम्झनामा केही न केही कार्यक्रमहरु हरेक वर्ष हुँदै आएका छन् । अघिल्लो वर्ष कविता प्रतियोगिता गरेको प्रतिष्ठानले यो वर्ष भने माध्यामिक विद्यालय स्तरीय चित्रकला प्रतियोगिताको आयोजना गरेको छ । २०६६ सालमा स्थापना प्रतिष्ठान स्थापना गर्दा त्यसको अध्यक्ष देवेन्द्र घिमिरे हुनुहुन्थ्यो । उहाँकै कार्यकालमा स्मृति प्रतिष्ठान भवन समेत बनेको छ । अहिले त्यहि भवनमा उहाँको सम्झनामा संग्राहलय बनेको छ भने त्यहाँ बैठक हलसँगै पार्टीको वडा कार्यालय पनि रहेको छ ।

प्रतिष्ठानले विभिन्न गतिविधि त्यहि भवनमा गर्दै आएको छ । यो वर्ष पनि उहाँको सम्झनामा आयोजना गरिएको चित्रकला प्रतियोगितामा पेन्सिल, रङ र कुचीको साहारामा १७ जना विद्यार्थीले जीवराजको आकृति उतारेका छन् । माध्यामिक तहका विद्यार्थीहरुको सहभागित रहेको त्यो प्रतियोगितामा सहभागी विद्यार्थीहरु कतै पेन्सिल चलाइरहेका थिए भने कतै कुची खेलाइरहेका थिए । अनि कतैचाँहि रङको साहारामा जीवराजको आकृति उतारिरहेका दृष्यहरु देखिन्थे ।
कार्यक्रममा पुराना कम्युनिष्ट नेताहरु देवेन्द्र, घिमिरे, नेत्र पन्थी मात्रै होइन जीवराजकी धर्मपत्नी माया ज्ञवाली र उहाँका छोरा सागर न्यौपाने पनि ती विद्यार्थीहरुले आफ्ना पति र पिताको आकृति कोरिरहेका दृष्य हेरेर टोलाइरहनु भएको थियो । ‘पिताजीको देहान्त हुँदा म सानै थिएँ । तर, अहिले पनि पिताजी मेरो मानसपटलमा धुमिल सम्झना बनेर आइरहनु हुन्छ,’ निकै भावुक हुँदै सागरले भन्नुभयो, ‘उहाँ हाम्रा सामू नरहे पनि उहाँले राष्ट्र र पार्टीलाई गरेका योगदानलाई मर्न दिनुहुँदैन भनेर यहाँका आग्रजहरुको नेतृत्वमा स्थापना भएको स्मृति प्रतिष्ठानले केही न केही रचनात्मक, सिर्जनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।’
उहाँले स्वर्गीय बुवाप्रति सधैँ उच्चसम्मान रहँदै आएको भन्दै यसरी उहाँको जन्मजयन्तीमा कार्यक्रम गर्दा पिताजीले छाडेका पदचाप इमान्दार भएर पछ्याइरहनु पर्छ भन्ने उत्प्रेरणा जागेर आउने अनुभूति सुनाउनुभयो । ‘उहाँ हाम्रो पिता त हो नै उहाँका आदर्श, उहाँका योगदान र पार्टी र संगठनप्रतिको उहाँको निष्ठा हरेक कम्युनिष्टहरुका लागि आत्मसाथ गर्नुपर्ने बहुमुल्य निधि पनि हुन् भन्ने लाग्छ,’ उहाँले भन्नुभयो, ‘अग्रजहरुले हाम्रो पिता मात्रै होइन पार्टी र संगठनका एक आदर्श व्यक्तिका रुपमा सम्झिरहनका लागि गरेको योगदानले पनि हामीलाई पिताजीको अभावमा पनि धेरै ठूलो सहानुभूति मिल्ने गरेको छ ।’
प्रतिष्ठानका संस्थापक अध्यक्ष घिमिरे मात्रै होइन अहिलेका अध्यक्ष युवराज घिमिरे अनि उहाँहरुको टिमले आफ्नो पिताको योगदानलाई बचाइ राख्न गरेको पहल र प्रयासको पनि उहाँले खुलेर प्रशंसा गर्नुभयो । जीवराजको सम्झनामा एउटा स्मृति ग्रन्थ र केही पुस्तकहरु समेत प्रतिष्ठानले प्रकाशन गरेर गुण लगाएको पनि सागरले जानकारी दिनुभयो ।